भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरिराम लवजूले भक्तपुरका जनताले अब स्पष्ट रूपमा परिवर्तन चाहेको बताएका छन्।
आज भक्तपुर क्षेत्र नं १ स्थित पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगत लामो समयदेखि क्षेत्रले विकास र अवसरबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै यस पटक जनताले नयाँ नेतृत्व रोज्नेमा आफू विश्वस्त रहेको बताए।
उनले संघीय राजधानी नजिकै रहे पनि भक्तपुर क्षेत्र नं १ का जनताले सधैँ प्रतिपक्षीको व्यवहार सहनुपरेको गुनासो गर्दै आए पनि अब त्यो अवस्था अन्त्य हुने दाबी गरे। “विगतमा निर्वाचित प्रतिनिधिहरू सधैँ प्रतिपक्षीमा रहँदा भक्तपुर राष्ट्रिय गौरवका योजनाबाट समेत वञ्चित रह्यो,” उनले भने, “अब विकास र समृद्धिका लागि परिवर्तन आवश्यक छ।”
कार्यक्रममा बोल्दै अधिवक्ता समेत रहेका लवजूले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा जोगाउने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भक्तपुरको पुरानो सभ्यताको प्रतीक हनुमती सभ्यता बजेट अभावका कारण सुरक्षित र पुनर्जीवित हुन नसकेको उल्लेख गर्दै आफू निर्वाचित भए त्यसको संरक्षण र विकासका लागि पहल गर्ने बताए।
“भक्तपुर केवल इतिहास होइन, सम्भावनाको शहर पनि हो। यहाँका सभ्यता, संस्कृति र पूर्वाधारलाई संरक्षण गर्दै आधुनिक विकाससँग जोड्नु मेरो मुख्य उद्देश्य हो,” लवजूले भने।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी विशेष महाधिवेशन केन्द्रीय आयोजक समिति सदस्य डी.पी. ढकाल, देवेन्द्र श्रेष्ठ, उमा कपाली, सुनिल गोठे बासु, अन्जना पोखरेल, युवा नेता नरेश खड्का, राकेश सुवाल, चण्डिका लामिछाने, रोशन बासुकला, बिनोद लामिछाने, दिपेश लामिछानेलगायतको उपस्थिति रहेको थियो।






























