क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल, भक्तपुरले सल्लाहकारमा संजीप घिमिरे शुभचिन्तकलाई चयन गरेको छ ।
शनिबार सल्लाघारीमा सम्पन्न भक्तपुर जिल्ला समन्वय समितिको दोस्रो पूर्ण बैठकले शुभचिन्तकलाई सल्लाहकारमा सर्वसम्मत चयन गरेको हो।
प्रेस सेन्टर नेपाल, भक्तपुरको निवर्तमान अध्यक्ष रहेका शुभचिन्तक नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष समेत हुन् ।
लामो समय पत्रकारिता क्षेत्रमा बिताएका शुभचिन्तक हाल ननस्टप खबरका सम्पादक रहेका छन् ।
प्रेस सेन्टर नेपाल, भक्तपुरका अध्यक्ष मदन ढुङ्गानाले संगठनमा थप उर्जाका लागि सल्लाहकार शुभचिन्तकको मार्गनिर्देशन महत्वपूर्ण रहने बिश्वास ब्यक्त गरे ।
दोस्रो पूर्ण बैठकले भक्तपुरका सबै पालिका समितिलाई बैठक र क्रियाशिलताको लागि निर्देशन दिने र भक्तपुर नगरपालिकामा नेतृत्व चयनका लागि जिल्ला सदस्य अन्जली सैंजुलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको सचिव प्रदीप श्रेष्ठले जनाएका छन् ।
बैठक प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव नवराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा दाहालले सञ्चार क्षेत्रमा संकुचन ल्याउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हरण गर्न सरकार लागिरहेकोले प्रेस सेन्टरकर्मी पत्रकार सचेत रहनुपर्ने र नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिएका थिए ।
उपत्यका प्रदेश समितिका सचिव बाबुकाजी श्रेष्ठले भक्तपुरको प्रेस सेन्टर बलियो बनेमात्र जनपक्षीय पत्रकारिता बलियो बन्ने बताउदै संगठन निर्माणमा केन्द्रीत हुन निर्देशन दिए ।
बैठमा जिल्ला समितिका पदाधिकारी, सदस्य एवं पालिका शाखाका प्रतिनिधि सहभागी रहेका थिए ।





























