भक्तपुर। मध्यपुर थिमी नगरपालिकाले बिस्का जात्राको अवसर पारेर पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। नगरपालिकाले पत्रकार सम्मेलनमार्फत चैत अन्तिम साता र नयाँ वर्षको अवसरमा सांस्कृतिक तथा आर्थिक गतिविधि प्रवर्द्धन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमी ऐतिहासिक, सांस्कृतिक र परम्परागत पहिचान बोकेको नगर भएकाले यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार काठमाडौं उपत्यकाको मध्यभागमा रहेको मध्यपुर थिमी पाँच सय वर्षभन्दा बढी पुरानो सांस्कृतिक नगर हो। यहाँ मनाइने बिस्का जात्रा, जिब्रो छेड्ने जात्रा, बोडे जात्रा, महाकाली तथा भैरव नाचजस्ता मौलिक जात्रा–पर्वहरूले नगरको सांस्कृतिक पहिचान झल्काउने गरेका छन्।
नगरपालिकाले २०७४ सालको स्थानीय तह निर्वाचनपछि पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र स्थानीय उत्पादनको बजार विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसअघि आयोजना गरिएको “मध्यपुर महोत्सव” सफल भएपछि नगरप्रति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको पनि जनाइएको छ।
यही उद्देश्यलाई थप सुदृढ बनाउन चैत २८ र २९ गते विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन प्रदर्शनी तथा बाजा प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ। कार्यक्रमहरूमा स्थानीय हस्तकला, घरेलु उत्पादन र परम्परागत परिकारको प्रदर्शनी तथा बिक्रीसमेत गरिनेछ।
(कार्यक्रम तालिका)
१. स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन तथा बिक्री केन्द्र उद्घाटन
मिति: २०८२ चैत २८ गते
समय: बिहान ९ बजे
स्थान: शंखधरचोक, थिमी
२. खुला थिमी बाजा प्रतियोगिता उद्घाटन
मिति: २०८२ चैत २८ गते
समय: बिहान ११ बजे
स्थान: निगु पुखु (दुई पोखरी) परिसर
३. स्थानीय घरेलु उत्पादन प्रदर्शनी तथा मेला
मिति: २०८२ चैत २८ र २९ गते
स्थान: निगु पुखु (दुई पोखरी) परिसर
४. सांस्कृतिक कार्यक्रम
मिति: २०८२ चैत २९ गते
समय: बिहान ११ बजे देखि साँझ ६ बजेसम्म
स्थान: निगु पुखु (दुई पोखरी) परिसर
यसैगरी परम्परागत बिस्का जात्रा चैत ३० तथा वैशाख १ र २ गते मनाइनेछ भने बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा वैशाख २ गते दिउँसो १ बजे आयोजना गरिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले यी कार्यक्रममार्फत पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जना गर्दै नगरको आर्थिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको नगर उप- प्रमुख बिजय कृष्ण श्रेष्ठले बताएका छन् ।



























