काठमाडौँ | नेपाल इन्जिनियरिङ कलेज (NEC) मा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था Institute of Electrical and Electronics Engineers (IEEE) को आधिकारिक विद्यार्थी शाखा स्थापना गरिएको छ। आइतबार कलेजमा आयोजित विशेष समारोहमा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा IEEE का डा. अरूण कुमार तिमल्सिनाले शाखाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
कलेजका प्राचार्य भण्डारीका अनुसार IEEE विद्यार्थी शाखा स्थापना भएपछि कलेजमा अध्ययनरत विद्यार्थीहरू प्राविधिक नवप्रवर्तन, अनुसन्धान, कार्यशाला, सेमिनार, प्रतियोगिता तथा अन्तर्राष्ट्रिय स्रोतहरूसँग थप सशक्त रूपमा जोडिन सक्नेछन्। उनले IEEE को सहभागिताले विद्यार्थीहरूको व्यावहारिक सीप, नेतृत्व क्षमता र उद्योगसँगको संपर्क बढाइ क्यारियर निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा डा. तिमल्सिनाले IEEE ले विश्वभरका अनुसन्धानकर्ता, शैक्षिक विज्ञ, विश्वविद्यालय, उद्योग तथा सरकारी संस्थानका प्राविधिक–विशेषज्ञहरूलाई एउटै प्लेटफर्ममा ल्याई ज्ञान तथा अनुभव आदान–प्रदान गराउने महत्वपूर्ण भूमिका रहने जानकारी दिनुभयो। उनका अनुसार यस शाखाबाट नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले विद्युत शक्ति प्रणाली, इलेक्ट्रोनिक्स तथा सञ्चार, नवीकरणीय ऊर्जा, औद्योगिक स्वचालन तथा नियन्त्रणलगायत क्षेत्रका नवीनतम प्रविधि र अनुसन्धानमा सहभागी बन्ने अवसर पाउनेछन्।
IEEE विद्यार्थी शाखा गठनसँगै NEC का विद्यार्थीहरूलाई IEEE ले सञ्चालन गर्ने अन्तर्राष्ट्रिय सम्मेलन, जर्नल प्रकाशन, प्राविधिक समाजहरू तथा विश्वव्यापी नेटवर्कसँग जोडिने मार्ग खुला भएको कलेजले जनाएको छ। यसले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा इन्जिनियरिङ क्षेत्रमा परिचित र सक्षमबनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।




























