वि.सं.२०८३ वैशाख ५ शनिवार

सुदूरपश्चिममा (माओवादी केन्द्र)को अभियान: विकास र जनसरोकारका मुद्दा सशक्तरूपमा उठाइयो

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण र बहुपक्षीय प्रतिस्पर्धाको सन्दर्भमा सुशासन र राष्ट्रिय हितको पक्षमा सशक्त ढंगले अभियान सञ्चालन गरेको छ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा जेठ १ गतेदेखि ४ गतेसम्म बैतडी, डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लामा सञ्चालन गरिएको जनअभियान अन्तर्गत दर्जनौं कार्यक्रमहरू सम्पन्न भएका छन्।

सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले प्रेस बिज्ञप्तिमार्फत अभियानलाई सफल बनाउन योगदान दिने सबै पार्टी कार्यकर्ता, स्थानिय सरकार, जनप्रतिनिधि र सर्वसाधारणप्रति आभार प्रकट गरेका छन्।

बैतडीको पाटनबाट सुरु भएको अभियान अन्तर्गत सुदूरपश्चिमको भौगोलिक विकटता र मौसमी चुनौतीका बाबजुद पनि विभिन्न जनसभा, प्रत्यक्ष जनसंवाद, नागरिक भेटघाट, सांस्कृतिक कार्यक्रम, प्रेस मिट, ज्ञापनपत्र हस्तान्तरण लगायतका १ सयभन्दा बढी कार्यक्रमहरू भव्य र प्रभावशाली रूपमा सम्पन्न भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अभियानको सुरुवात सुदूरपश्चिमलाई पूर्व–पश्चिमसँग जोड्ने मध्यपहाडी राजमार्गको एक खण्डबाट गरिएको थियो। उक्त राजमार्गले स्थानीय उत्पादनको प्रवर्द्धन र क्षेत्रीय समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तर, अपेक्षित गतिमा पूर्वाधार विकास अघि नबढेकोप्रति अभियानले ध्यानाकर्षण गराएको छ।

बिज्ञप्तिमा उल्लेख भएअनुसार जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संवाद गर्दै अभियानले करिब १० हजार जनसंख्यासँग प्रत्यक्ष सम्पर्क स्थापित गरेको छ। ७०० भन्दाबढी ठाउँमा प्रत्यक्ष सम्बोधन, ६३ वटा ज्ञापनपत्र हस्तान्तरण, ११ ठाउँमा सांस्कृतिक प्रस्तुति, ४० भन्दा बढी पार्टी आन्तरिक बैठकजस्ता कार्यक्रममार्फत सशक्त जनसम्पर्क विस्तार गरिएको छ।

अभियानको क्रममा सांसदहरूको बैठकसमेत बस्दै संसदीय दलको नेतृत्व चयन गरिएको र पार्टी एकताको सन्देश प्रवाह गरिएको थियो। साथै, सुदूरपश्चिममै पहिलोपटक संसदीय प्रक्रियाबाट ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ संसदमा दर्ता भएकोप्रति समेत पार्टीले स्वागत गरेको छ। यो विधेयक अध्यक्ष प्रचण्डको नेतृत्वमा तयार गरिएको हो।