नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सञ्चार क्षेत्रको संरक्षण, विकास तथा पत्रकारको हकहितका लागि “मिडिया बचाउ अभियान” सञ्चालन गर्दै काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहमा सात बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।
काठमाडौं शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा बैशाख २५ गते नागार्जुन नगरपालिकाबाट सुरु गरिएको अभियान काठमाडौं महानगरपालिकामा उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र बुझाउँदै जेठ ६ गते सम्पन्न भएको हो।
अध्यक्ष अर्यालका अनुसार यो अभियान साना लगानीका स्वरोजगारमुखी छापा तथा नयाँ मिडिया सञ्चालक पत्रकारको हकहित संरक्षण तथा मिडिया क्षेत्रको दीर्घकालीन विकासमा केन्द्रित रहेको छ । विशेषगरी ऐतिहासिक महत्त्व बोकेका साना छापा माध्यमको अवस्था दिनानुदिन नाजुक बन्दै गएको सन्दर्भमा यसलाई संरक्षण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताइन् ।
यी हुन् काठमाडौं शाखाले स्थानीय सरकारहरूसँग राखेका सात बुँदे मागहरू :

१. देशकै धेरै स्वरोजगारमूलक मिडिया आबद्ध शाखाका रुपमा यस्ता मिडियाको संरक्षण र विकासका लागि विशेष नीति तथा योजना ल्याउन।
२.मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन र फेलोसिपको व्यवस्था गर्न।
३.साप्ताहिक, पाक्षिक, मासिक तथा मध्यम आकारका छापा माध्यमहरूको ऐतिहासिक भूमिकालाई कदर गर्दै संरक्षण र प्रबर्द्धनका लागि विशेष योजना ल्याउन र न्यु मिडियाको पनि संरक्षण र विकासको पहल गर्न।
४. पत्रकारहरुको सिप तथा क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न वार्षिक कम्तीमा १० लाख रुपैयाँ बजेटको व्यवस्था गर्न।
५. लोककल्याणकारी विज्ञापन तथा सूचना–सन्देशको वितरण समावेशी बनाउँदै विभिन्न भाषाभाषी, महिला, दलित, आदिवासी तथा जनजाति समुदायका प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिन।

६. स्थानीय तहबाट निर्माण हुने मिडिया नीति तथा कानुन मिडियामैत्री र संविधानको भावना अनुरूप बनाउन।
७. स्थानीय तहका कार्यक्रमहरूमा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखासँग सहकार्य गर्ने ।
साथै “अभियानले सम्पूर्ण पालिकाहरूको ध्यान पत्रकारिता क्षेत्रतर्फ खिचेको र यसले नीतिगत तथा संरचनागत परिवर्तनको बाटो खोल्ने विश्वास गरिएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सहसचिव बिक्रम रत्नले बताए




























