भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टीप्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको दाबी गरेका छन् ।
शुक्रबार नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नं. २ स्थित क्षेत्रीय निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले टोल–टोलमा भएका भेटघाट, छलफल तथा अन्तरक्रियाबाट आम नागरिकमा परिवर्तनको चाहना स्पष्ट देखिएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले देशमा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक अस्थिरताले जनतालाई निराश बनाएको उल्लेख गरे ।
“जनताको पीडा बुझ्ने, श्रमिक, किसान र युवाको पक्षमा उभिने नेतृत्व आजको आवश्यकता हो,” उनले भने, “त्यसका लागि जनताले क्रान्तिकारी विकल्प रोज्नुपर्ने समय आएको छ।”
उनले शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर, भ्रष्टाचार नियन्त्रण तथा स्थानीय उत्पादनको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पार्दै संसदमा पुगेपछि मजदुर, किसान र सीमान्तकृत समुदायको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार दिलिप प्रजापतिले प्रचण्ड प्रधानमन्त्री रहेका बेला भ्रष्टाचारविरुद्ध गरिएको कारबाही र सुशासनको प्रयास स्मरण गराउँदै अन्य दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको बताए । उनले जनताले अब नयाँ राजनीतिक विकल्प खोजिरहेको त्यसका लागी आफ्नो पार्टीको स्पष्ट बहुमत आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मन्त्री राजेन्द्रमान श्रेष्ठ, पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य सुनिल गोठे बासु, श्याम बस्नेत,भवानी खड्का नेपाल बागमती प्रदेश सदस्य युवराज आचार्य सुर्यविनायक नगर समिति अध्यक्ष सानुकान्छा आलेमगर सचिव सनिश लागेजु वाइसीएल नेपाल बागमती प्रदेश समिति अध्यक्ष नरेश रन्जित,केन्द्रीय सदस्य राजु कुटु, लगायतको उपस्थिति रहेको वाइसीएल नेपाल भक्तपुरका पूर्व अध्यक्ष सरराज उप्रेतीले बताए ।































