वि.सं.२०८२ फागुन १९ मंगलवार

को हुन नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दिपशिखा ?

भक्तपुर। नेपाली कम्युनिष्ट पार्टी भक्तपुर क्षेत्र नं २ बाट प्रत्येक्ष तर्फ उम्मेदवार बनेका रामप्रसाद सापकोटा ´ दिपशिखा` नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली युवा नेतामध्ये एक हुन् ।
पत्रकारिता, साहित्य र सशस्त्र जनसंघर्ष हुँदै राष्ट्रिय राजनीतिसम्म आइपुगेको उनको यात्रा तीन दशकभन्दा लामो छ।

वि.सं. २०३७ वैशाख १५ गते भक्तपुरको मध्यपुर ठिमी–३ मा जन्मिएका सापकोटा बुबा दुर्गा प्रसाद सापकोटा र आमा नन्दमाया सापकोटाका कान्छो छोरा हुन् । दिपशिखा किशोरावस्थामै विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन सुरु गरेका थिए।

विद्यार्थी आन्दोलनबाट वि.सं. २०४७ मा तत्कालीन नेकपा (एमाले) निकट अनेरास्ववियुको विद्यालय समिति अध्यक्ष बनेर राजनीति सुरु गरेका दिपशिखा वि.सं. २०४८ मा क्षेत्रीय समिति सचिव र २०४९ मा क्षेत्रीय समिति सदस्य बने।

वि.सं. २०५३ मा अनेरास्ववियु तथा नेकपा (एमाले) परित्याग गरी माओवादी नेतृत्वकोसशस्त्र जनसंघर्षमा सहभागी भए। त्यसपछि उनी पूर्णकालीन कार्यकर्ताको रूपमा भूमिगत भए।

सशस्त्र जनसंघर्षका क्रममा उनले दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा संगठननिर्माण,
पूर्वी कमाण्डका लागि गुरिल्ला तालिम,जनमुक्ति सेनाको प्लाटुन कमाण्डर तथा काठमाडौँ स्टेशन टास्कफोर्सको बटालियन कमाण्डर जस्ता जिम्मेवारी सम्हाले।

वि.सं. २०५८ मा दोलखाको चारिकोटबाट गिरफ्तार भई वि.सं. २०५९ को पहिलो युद्धविरामका क्रममा रिहा भए। त्यसपछि पुनः उनी जनमुक्ति सेनाको कमाण्ड सम्हाल्दै संगठन विस्तारमा सक्रिय रहे।
संगठन र पार्टी नेतृत्व पार्टीको सशस्त्र जनसंघर्षपछि शान्ति प्रक्रियामा प्रवेश गरेपछि सापकोटा संगठन निर्माणमा अग्रसर भए।

वि.सं. २०६४ मा युवा कम्युनिष्ट लिग योङ्ग कम्युनिस्ट लिग वाइसीएलको भक्तपुर जिल्ला अध्यक्ष हुँदै २०६६ मा केन्द्रीय समिति सदस्य,२०७३ मा महासचिव २०७४ मा वाइसीएलको केन्द्रीय अध्यक्ष बन्न सफल भए ।

त्यसैगरी २०७८ मा उनलाई तत्कालीन नेकपा ( माओवादी केन्द्र ) ले वाइसीएल इन्चार्जको जिम्मेवारी दियो। २०७५ मा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (NCP) को केन्द्रीय समिति सदस्य तथा युवा संगठन संयोजकसमेत बनेका उनी पार्टी विभाजनपछि पुनः वाइसीएलको नेतृत्वमा फर्किए।

राजनीतिक जीवनसँगै उनले पत्रकारिता र साहित्यमा पनि महत्वपूर्ण योगदान दिएका छन्।

वि.सं. २०६४देखि २०६८ सम्म लालरक्षक मासिकका प्रधान सम्पादकको समेत जिम्मेवारी पूरा गर्दै उनी
२०६९देखि २०७० सम्म समाचार दैनिकका प्रधान सम्पादक रहनुका साथै साहित्य क्षेत्रमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका छन् । उनका कृतिहरू “रात फुलेको याम” (नेपाली बेस्टसेलर) र “संसार फेरि रचिनेछ” प्रकाशित छन्। उनका लेख, स्तम्भ र जर्नल सामग्री विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।