भक्तपुर — नेपाली कम्युनिस्ट पार्टी , भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार हरिराम लवजूकाे जन्म २०३० साल मंसिर १८ गते भक्तपुर नगरपालिकाको वडा नं. ३, तचपाल टोल, दत्तात्रयमा भएको थियो । लवजू पिता रामभक्त लवजू र माता नानी कुमारी लवजूका सुपुत्र हुन् । उनी बाल्यकालदेखि नै समाजप्रति जिम्मेवार र न्यायप्रेमी स्वभावका थिए ।
कानुन, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा तीन दशकभन्दा लामो योगदान दिएका अधिवक्ता लवजू जनआन्दोलनका घाइतेदेखि समाज परिवर्तनका सचेत अभियन्तासम्मको यात्रामा खारिएका व्यक्तित्व मानिन्छन् ।
लवजूले कानुन शास्त्रमा स्नातकोत्तर (मानव अधिकार र लैंगिक न्याय) काठमाडौं स्कुल अफ लबाट तथा राजनीति शास्त्रमा स्नातकोत्तर (अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध) उपाधि हासिल गरेका छन्।
लवजू नेपाल बार काउन्सिलको पाँचौँ परीक्षामा उनी देशका १० उत्कृष्टमध्ये तेस्रो हुन सफल भएका थिए साथै, राष्ट्रिय न्याय प्रतिष्ठानबाट उनले ४८ घण्टे प्रशिक्षक प्रशिक्षण तालिम र भारतको बैंगलोरबाट मानव अधिकार तथा शरणार्थीसम्बन्धी सार्क तथा राष्ट्रस्तरीय अन्तर्राष्ट्रिय कोर्ससमेत गरेका छन्।
विगत २६ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न लवजूले करिब १० वर्ष प्राध्यापन पनि गरेका छन्। उनले बिबिएस दोस्रो वर्षमा वाणिज्य कानुन तथा बिएड तेस्रो वर्ष र एमएड दोस्रो वर्षमा सामाजिक न्याय र शिक्षा विषय प्राध्यापन गरेका थिए।
कानुन र शैक्षिक क्षेत्र संगै लवजूकाे सरकारी क्षेत्रमा समेत अनुभव रहेको पाईन्छ उनी पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा स्व. पोष्ट बहादुर बोगटी र रामकुमार श्रेष्ठ मन्त्री रहँदा करिब २२ महिना कानुनी सल्लाहकारको रुपमा रहेका थिए ।
लवजूको राजनीतिक यात्रा पनि निकै संघर्षमय देखिन्छ २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनमा नेपाल बन्दको जुलुसमा सहभागी हुँदा २०४६ फागुन ८ गते उनी गोली लागी गम्भीर घाइते भएका थिए त्यसपछि उपचारकै क्रममा उनलाई प्रहरीले पक्राउ गरि सार्वजनिक अपराध मुद्दामा ३४ दिन प्रहरी हिरासत र झण्डै एक महिना केन्द्रीय कारागारमा राजबन्दीका रूपमा राखिएकाे थियाे । पछि सरकारले मुद्दा फिर्ता लिएपछि उनी जेलमुक्त भएका थिए।
त्यसपछि २०५२ सालदेखि मानव अधिकार, लैंगिक न्याय र नागरिक सहभागितामा निरन्तर सक्रिय लवजूले नेपाल मानव अधिकार संगठन र राष्ट्रिय मानव अधिकार आयोगमार्फत देशका विभिन्न जिल्लामा अनुगमन गर्दै पीडितका पक्षमा आवाज उठाएका थिए ।
त्यस्तै २०६३ सालमा उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सदस्यता लिई हाल उनी पार्टीको बागमती प्रदेश समिति सदस्य रहदै आएका छन् ।
साथै, प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य तथा पार्टी पेशागत संगठनका जिल्ला कमिटी सदस्य रहिसकेका छन्।
साथै लवजू नेपाल बार एसोसिएसन, मानव अधिकारसम्बन्धी संस्थाहरू, सिद्धि स्मृति प्रतिष्ठान, सहकारी संस्थाहरू र नेपाल रेडक्रस सोसाइटीमा आबद्ध छन्।






























