भक्तपुर। नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नं. १ ले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनलाई लक्षित गर्दै आफ्नो औपचारिक प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदवार हरिराम लवजूले प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
पार्टीले देशमा विकसित पछिल्लो राजनीतिक परिस्थितिका कारण २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै हुन लागेको उल्लेख गर्दै वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गरेको हो ।
पार्टीले जारी गरेको वक्तव्यमा नेकपा एमाले र नेपाली कांग्रेस को दुई तिहाइको गठबन्धन सरकारको “खराब कर्म, दम्भ, अहङ्कार र असक्षमता” का कारण जनस्तरमा तीव्र असन्तुष्टि र आक्रोश बढेको दाबी गरिएको छ।
वक्तव्यअनुसार गत भदौ २३ गते नवयुवा (जेन–जी) पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल फुकुवा तथा राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायतका मागसहित सडक आन्दोलन गरेको उल्लेख गरिएको छ। समयमै वार्ता–संवादमार्फत निकास दिन नसक्दा भदौ २३ र २४ गतेका घटनामा ७६ जना युवाले ज्यान गुमाउनुपरेको तथा सयौँ घाइते भएको दाबी पार्टीले गरेको छ।
यस घटनापछि जनआक्रोश चुलिएको र उक्त आक्रोशलाई “मलिन तत्वहरूले हिंसात्मक रूप दिँदै” सिंहदरबार, सर्वोच्च अदालत तथा संसद भवन लगायतका राज्यका महत्वपूर्ण संरचनामा क्षति पुर्याएको आरोप पनि वक्तव्यमा उल्लेख गरिएको छ। निजी क्षेत्रले अरबौँको नोक्सानी व्यहोर्नुपरेको र राज्यविहीनताको अवस्था सिर्जना भएको दाबी समेत गरिएको छ।
पार्टीले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी तथा जनजाति आन्दोलन र नवयुवा आन्दोलनका क्रममा शहिद भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ती आन्दोलनमार्फत उठाइएका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादतर्फ देशलाई अग्रसर गराउने सङ्कल्पसहित प्रस्तुत प्रतिबद्धता पत्रलाई आगामी निर्वाचनको मुख्य राजनीतिक एजेन्डा बनाइने नेकपा भक्तपुर–१ ले जनाएको छ।































