काठमाडौँ, भदौ ४
प्रेस सेन्टर नेपाल र गोरखापत्र संस्थानबीच सोमबार संस्थागत भेटवार्ता भएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वको टोलीले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर एरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, तथा गोरखापत्र अनलाइनका डिजिटल प्रमुख नारद गौतमसँग औपचारिक छलफल गरेको हो ।
प्रेस सेन्टर नेपालका सुझाव
भेटका क्रममा प्रेस सेन्टर नेपालले संस्थानलाई दुई मुख्य पक्षमा ध्यान दिन सुझाएको छः
न्यूजरुम सम्बन्धी सुझाव
गोरखापत्र र यसको प्रकाशनहरू सरकारसेवक होइन, राष्ट्रसेवक बन्नुपर्ने।
सत्ता मात्र होइन, प्रतिपक्षको आवाजलाई पनि समान प्राथमिकता दिने संस्कार विकास गर्नुपर्ने।
आवाजविहीनहरूको वास्तविक आवाज बन्नुपर्ने।
जाति, जनजाति, वर्ग, क्षेत्रीय मुद्दालाई प्राथमिकता दिनुपर्ने।
प्रेस स्वतन्त्रताविरुद्ध हुने कदमको प्रतिरोधमा दृढ भएर उभिनुपर्ने।
व्यवस्थापन सम्बन्धी सुझाव
कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने।
२० वर्षदेखि स्ट्रिन्जर, करार र ज्यालादारीमा काम गरिरहेका कर्मचारीको हकहितमा सोच्नुपर्ने।
सत्तापरिवर्तनसँगै पत्रकार हटाउने परम्परा अन्त्य गर्नुपर्ने।
काम गर्नेले पुरस्कार र नगर्नेले दण्ड पाउने व्यवस्था हुनुपर्ने।
सामाजिक सुरक्षा कोषमा गोरखापत्र संस्थानले पनि तत्काल अघि बढ्नुपर्ने।
गोरखापत्र संस्थानको प्रतिबद्धता
संस्थानका अध्यक्ष सुवेदी र महाप्रबन्धक एरीले प्रेस सेन्टर नेपालले उठाएका सुझावलाई सकारात्मक रुपमा लिएको बताए । उनीहरूले गोरखापत्रलाई सरकारको मात्र नभई सिङ्गै राज्यको बनाउन लागिपरेको, ‘स्मार्ट गोरखापत्र’ अभियान सुरु गरिएको र प्रकाशनलाई डिजिटलाइजेसनमा लैजाने कार्य अघि बढाइएको जानकारी दिए । साथै, कर्मचारी सम्बन्धी विषयमा पनि गम्भीर भई आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए ।
सम्पादकहरूको भनाइ
गोरखापत्र दैनिक, राइजिङ नेपाल र गोरखापत्र अनलाइनका सम्पादकहरूले गोरखापत्रलाई भुइँमान्छेको आवाज बनाउने प्रतिबद्धता दोहोर्याए ।
विचार वा सत्ता परिवर्तनका आधारमा कर्मचारी नहटाइने।
न्यूजरुमका सहकर्मीलाई सम्मान गर्ने परम्परा कायम राखिने।
समाचार सामग्रीमा विचार वा पक्षपात नगर्ने प्रतिबद्धता ।
भेटमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव मनोज घर्तीमगर, उपमहासचिव बुद्ध लोप्चन, सचिवहरू नवराज दाहाल, दिपिन राई, नन्दलाल तिवारी र केशव भुलको सहभागीता रहेको थियो ।




























