भक्तपुर — आज नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयको तर्फबाट खटिएको टोलीले भक्तपुर निर्वाचन क्षेत्र नं. १ को स्थलगत अनुगमन गरेको छ ।
संयोजक राजेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टालीले अनुगमन सम्पन्न गरेको हो ।
अनुगमनको क्रममा टोलीले प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिराम लवजूसँग विशेष अन्तरक्रिया गरेको छ। सो अवसरमा क्षेत्रको राजनीतिक अवस्था, जनताको मनोभाव, चुनावी अभियानको प्रगति तथा पार्टी संगठनको अवस्था लगायतका विषयमा गहन छलफल भएको थियो।
अनुगमन टोलीले भक्तपुर क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीको संगठन क्रमशः बलियो बन्दै गएको, जनस्तरमा पार्टीप्रतिको भरोसा बढ्दै गएको र परिवर्तनको पक्षमा
वातावरण बनेको निष्कर्ष निकालेको छ।
संयोजक राजेन्द्र श्रेष्ठले वर्तमान राजनीतिक अवस्थाले जनतालाई नयाँ वैकल्पिक शक्तिको खोजीमा उभ्याएको भन्दै, “भक्तपुरमा परिवर्तनको लहर देखिन थालेको छ, यसलाई सही दिशा दिनु आवश्यक रहेको बताए ।
अन्तरक्रियामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ को उम्मेदवार रहेका अधिवक्ता हरिराम लवजूले भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टीप्रति जनसमर्थन बढ्दै गएको बताएका छन् ।
लवजूले भक्तपुरका जनताले अब पुराना दल र नेतृत्वबाट निराश भएर नयाँ विकल्प खोजिरहेकाे बताए ।
“हामी जनताको घरदैलोमा पुगेका छौँ, जनताको विश्वास र समर्थन बढ्दै गएको छ,” लवजूले भने।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र भ्रष्टाचारविरुद्ध संघर्षलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको समेत स्पष्ट पारेका छन् ।
अन्तरक्रियामा नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय महाधिवेशन आयोजक सदस्य डि.पि ढकाल, देवेन्द्र श्रेष्ठ,सुनिल गाेठे बासु स्थानीय साजन प्रजापति, राकेश सुवाल लगाएतकाे उपस्तिथि रहेको थियो ।































