वि.सं.२०८२ फागुन १९ मंगलवार

विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्ने दिपशिखाको प्रतिबद्धता

भक्तपुर। नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार रामप्रसाद सापकोटा (दीपशिखा) ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। सोमबार पत्रकार सम्मेलन मार्फ आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उनले विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्ने बताएका हुन्।

सापकोटाले शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, पूर्वाधार विकास तथा सुशासन स्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाएको जानकारी दिए। उनले भक्तपुर क्षेत्र नम्बर २ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको साथ र समर्थन आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार युवालाई रोजगारीका अवसर उपलब्ध गराउने, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने तथा पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने योजना रहेको छ। साथै, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्दै समावेशी विकासलाई प्राथमिकता दिने उनको भनाइ छ।

सापकोटाले निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त भइरहेको दाबी गर्दै पार्टीको नीतिगत स्पष्टता र जनपक्षीय कार्यक्रमका कारण मतदाताको विश्वास बढ्दै गएको बताए। उनले सम्पूर्ण मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन्।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै पार्टीबाट समानुपातिक तर्फका उम्मेदवार रहेका दिलिप प्रजापतिले आफू सत्तामा नहुदापनि थुप्रै बिकास निर्माणका कार्यहरु लगायत गुणस्तरीय स्वास्थ, शिक्षा र रोजगारीका लागी समेत आवश्यक पहल लिदै आएको बताए । प्रजापतिले मध्यपुरको साँस्कृतिक सम्पदा पुनर्निर्माण र संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको समेत जिकिर गरे ।