काठमाडौं — प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस सेन्टर नेपालद्वारा जारी विज्ञप्तिअनुसार, नेकपा एमालेसँग आबद्ध भोलिन्टियर फोर्सका सदस्यहरूले पत्रकार आचार्यमाथि भौतिक आक्रमण गर्नुका साथै उनको मोबाइल लुटपाट गरेको बिज्ञप्तिमा जनाइएको छ।
उक्त घटना झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङका क्रममा बिहीबार दिउँसो भएको बताइएको छ।
आक्रमणबाट आचार्यको आँखा, गाला तथा ढाडमा चोट लागेको छ। साथै, उनको मोबाइल सेट खोसिएको र चस्मा फुटाइएको जनाइएको छ। एमालेका कार्यकर्ताहरूले ज्यान लिने धम्की दिएपछि पत्रकार आचार्य अन्य सञ्चारकर्मीहरूको सहयोगमा सुरक्षित स्थानमा बस्न बाध्य भएका समेत बिज्ञप्तिमा जनाइएको छ। ।
प्रेस सेन्टर नेपालले केन्द्रीय सदस्य आचार्यमाथि भएको भौतिक आक्रमण तथा लुटपाटको घटनाको कडा शब्दमा निन्दा गर्दै संलग्न दोषीमाथि तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुका साथै, घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारको उचित व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा पत्रकारहरूको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासन तथा सरकारसँग समेत माग गरिएको छ। प्रेस सेन्टर नेपालले संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्बाध रूपमा समाचार सङ्कलन, प्रकाशन र प्रसारण गर्न पाउने वातावरण सुनिश्चित गर्न सबै पक्षसँग आग्रह गरेको छ।





























