काठमाडौं, भदौ १५ – माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भदौ १६ गते काठमाडौंको होटल सोल्टीमा “श्रमिकसँग सांसद” शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा माओवादी निकट संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरूको उपस्थिति रहनेछ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक युनियनका अनुसार कार्यक्रममा श्रम क्षेत्रमा भइरहेका अनियमितता, श्रमिकलाई दिनुपर्ने न्यूनतम सुविधा नदिनु, र गैरकानुनी रोजगार प्रथाबारे सांसदहरूको ध्यानाकर्षण गराइनेछ। यसअघि आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख भए पनि हटाइएको १० प्रतिशत सेवा शुल्क कानुनी रूपमा पुनः लागू गर्नुपर्ने माग युनियनले लामो समयदेखि गर्दै आएको छ।

मागलाई थप दबाब दिने उद्देश्यले युनियनले भदौ १६ गतेदेखि देशव्यापी श्रमिक हस्ताक्षर अभियान सुरु गर्ने भएको छ। होटल, मोटेल, रेस्टुरेन्ट, रिसोर्ट, क्यासिनो, फास्ट–फुड, नाइटलाइफ व्यवसाय, केबलकार, पार्टी प्यालेस लगायत क्षेत्रमा कार्यरत श्रमिकहरूले अभियानमा सहभागिता जनाउनेछन्। संकलित हस्ताक्षर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) मार्फत सरकारले बुझाइनेछ।
साथै यो अभियान सातै प्रदेशमा विस्तार गरी सरकारले ठोस कदम नचालेसम्म निरन्तर सञ्चालन गरिने युनियनका अध्यक्ष कुमार पन्तले बताए ।




























