काठमाडौँ, असार १४ — विभिन्न राजनीतिक दलनिकट दलित सङ्गठनहरूको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय नेपाल दलित मोर्चा गठन गरिएको छ। मोर्चाको संयोजकमा दलजित श्रीपाली र सहसंयोजकमा राम औतार पासवान चयन भएका छन्।
काठमाडौँमा आयोजित एकता बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा पार्टीका केन्द्रीय सदस्य तथा दलित तथा सीमान्तकृत अल्पसङ्ख्यक विभाग प्रमुख परशुराम रम्तेलले ५३३ सदस्यीय केन्द्रीय समिति र ६७ सदस्यीय सचिवालय घोषणा गरेका हुन्।
नवगठित मोर्चाको नेतृत्व तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीलाई दिइएको छ भने तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठनका अध्यक्ष राम औतार पासवान सहसंयोजक चयन भएका छन्।
मोर्चा गठनका लागि सम्पन्न एकता प्रक्रियामा नेपाल दलित मुक्ति मोर्चा, दलित मुक्ति सङ्गठन, श्रमिक समुदाय मोर्चा नेपाल, नेपाल समाजवादी दलित मुक्ति सङ्गठन तथा एकीकृत दलित मुक्ति मोर्चालगायत विभिन्न दलित सङ्गठन सहभागी भएका छन्।
मोर्चाले दलित समुदायको अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दालाई साझा कार्यक्रममार्फत अगाडि बढाउने जनाएको छ। संयोजक श्रीपालीका अनुसार केन्द्रीय समितिलाई प्रशिक्षण प्रदान गरिने तथा आगामी कार्ययोजनाबारे सोमबार विस्तृत छलफल गरिनेछ।
बैठकमा बलराम बास्कोटा, गणेशमान पुन, तिलक परियार, परशुराम रम्तेल, तेजबहादुर मिजार, रणेन्द्र बराली, पदम सुन्दास, भुवन सुनार, दुर्गा परियार, डा. मित्र परियार, कमला विक, गोपाल परियार र गोविन्द विकलगायत नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।



























