वि.सं.२०८३ जेठ २० बुधवार

‘प्रतिभाको आगन’ मा सुकृति श्रेष्ठ प्रथम

नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आगन’ मा सुकृति श्रेष्ठ प्रथम बनेकी छन् ।
भक्तपुर प्याब्सन अन्तर्गतको विद्यालय स्तरीय डान्स रियालिटी सो ‘प्रतिभाको आगन’ मा प्रथम हुँदै उनी बिजेता बनेकी हुन् ।

प्रतियोगितामा १ हजार ३७ जनाले अडिसन दिएका थिए भने बिभिन्न राउन्ड पार गर्दै १२ जना अन्तिम प्रतिस्पर्धामा पुगेका थिए । उनीहरु सबैलाई पछि पार्दै सुकृतिले बिजेताको ताज पहिरिन सफल भएकी छन् ।
सूर्यविनायक-२ बालकोट निवासी सुकृति नवरत्न लाइफ स्कूलको कक्षा ४ मा पढ्छिन । बिजेता बनेसंगै उनले रु २५ हजार र बिभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी नमस्ते ख्वप टेलिभिजनका संचालक ऋषिकेश श्रेष्ठले जनाएका छन् ।

सुकृतिको परिवार र विद्यालय पनि उनको सफलताबाट दङ्ग परेको छ । उनका पिता सुरेश झ्या श्रेष्ठले प्रतिभाको आगनले आफ्नो छोरीको प्रतिभा प्रस्फुटनमा सहयोग गरेको भन्दै कार्यक्रमको निरन्तरताको कामना गरेका छन् ।
सुकृतिलाई पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले बालबालिकाले पढाई संगै अतिरिक्त क्रियाकलापलाई पनि अघि बढाउनु खुशीको कुरा भएको बताए । को भन्दा को कम भन्ने शैलीमा नृत्य प्रस्तुत गरेका बालबालिकाको भविष्य यस क्षेत्रमा समेत उज्जल रहेको उनले बिश्वास ब्यक्त गरेका छन् ।
प्रतिभाको आगनमा विनायक शिक्षा निकेतनकी अपेक्षा बोहरा द्वितीय र वेलफेयरकी बिहानी तामाङ तृतीय भएका छन् ।
प्रतियोगितामा कमल राई, भुवनदाश श्रेष्ठ र संगीता खड्गीले निर्णायकको भूमिका निभाएका थिए ।