वि.सं.२०८३ जेठ २० बुधवार

पाँच बिपक्षी दलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार गइ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन,राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।

विपक्षी दलहरुद्धारा बुझाइएको ज्ञापनपत्रमा नेकपा (एमाले) र नेपाली काँग्रेसले मिति २०८१/०३/१७ गते मध्यराती ७ बुँदे सम्झौता गरी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाइ तीब्रता दिने विषय सार्वजनिक गरेको भएपनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ ।

ज्ञापनपत्र मार्फत विपक्षी दलहरुले भनेका छन् -‘सुरुवाती दिनमा ती विषयमा ठूलो आवाज गरेको वर्तमान सरकारले गठनको झण्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नगरेको देखिन थालेको छ।


अदालतमा मुद्दा खेपिरहेका व्यापारीको पक्षमा स्वयं प्रधानमन्त्रीले नै पक्षपोषण गर्नु र प्रधानमन्त्रीकै दलले करिब एक अर्ब भन्दा बढी मूल्यको जग्गा गैर कानुनी रूपमा दानका रुपमा लिएर सुशासनको उपहास गर्ने कार्य भएको छ।’

सरकारले लोकतन्त्रालाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरुलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरेको विपक्षी दलहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

गएको शुक्रबार बसेको विपक्षी दलको बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । बैठकले माओवादीका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल रहेको कार्यदल गठन पनि गरेको थियो ।