वि.सं.२०८३ जेठ २० बुधवार

पत्रकारहरूमाथिको असुरक्षा र प्रेस स्वतन्त्रताप्रति प्रेस सेन्टर नेपाल भक्तपुरको चिन्ता, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइयो ज्ञापनपत्र

भक्तपुर, जेठ ६ – पत्रकारहरूमाथि बढ्दो असुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको संकुचन, र प्रेसमाथिको दमनप्रति चिन्ता व्यक्त गर्दै प्रेस सेन्टर नेपाल भक्तपुरले मंगलबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएकाे छ। जिल्ला अध्यक्ष मदन ढुङ्गाना नेतृत्वको कार्यसमितिले ज्ञापन पत्र बुझाइएको हो ।

प्रेस सेन्टर नेपालले आफ्नो केन्द्रीय कार्यालयको निर्देशनअनुसार देशव्यापीरूपमा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो। सोही कार्यक्रम अनुसार प्रेस सेन्टर नेपाल भक्तपुरले व मंगलबार ज्ञापनपत्र बुझाएको जिल्ला सचिव प्रदिप श्रेष्ठले जानकारी दिए ।

भौतिक र पेशागत सुरक्षाको माग

ज्ञापनपत्रमा पत्रकारहरूको पेशागत मात्र नभई भौतिक सुरक्षाको पनि ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ। जनयुद्ध कालदेखि हालसम्म हत्या र बेपत्ता पारिएका पत्रकारहरूका घटनाहरूमा दोषीहरूलाई कानुनी दायरामा ल्याउन नसकिएको भन्दै सेन्टरले आपत्ति जनाएको छ।

बिलम्ब भइरहेको कानुन निर्माण र विधेयकप्रति आपत्ति

सञ्चारसम्बन्धी कानुन निर्माणमा भइरहेको ढिलाइ र प्रेस स्वतन्त्रता संकुचन गर्न ल्याइने विधेयकहरूप्रति पनि ज्ञापनपत्रमा गम्भीर आपत्ति जनाइएको छ। कानून निर्माण प्रक्रियामा सरोकारवालासँग समन्वय गर्नुपर्ने माग पनि गरिएको छ।

साइबर अपराधको डर देखाएर प्रेसलाई त्रास नदिन आग्रह

ज्ञापनपत्रमा प्रेसमाथि ‘साइबर क्राइम’ को डण्डा देखाएर त्रास सिर्जना नगर्न पनि आग्रह गरिएको छ। प्रेस सेन्टरले पत्रकार मिलन नेपाली लगायत बेपत्ता पत्रकारहरूको अवस्थाबारे जानकारी दिन माग गर्दै अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले आफूले गृह मन्त्रालय हुँदै सम्बन्धित निकायमा ज्ञापनपत्र पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

अवसरमा सेन्टरका पूर्व नेता तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष संजीप घिमिरे, भक्तपुर शाखा सदस्य अञ्जीर सिंह बिक, र सेन्टरका प्रदेश सचिव बाबुकाजी श्रेष्ठको उपस्थिति रहेको थियो।