प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । बिहीवार शंखधर साख्वा:को सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड आउने भएका हुन् ।
नेपाल संवत अनुसार नयाँ वर्ष ११४५ को अवसरमा सो संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वा:को सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड आउने कार्यक्रम तय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डि.पि ढकालले जानकारी दिए । प्रचण्ड निवासमा सोमबार आफूहरु निम्ता दिन गएको र अध्यक्ष प्रचण्डले बिहीवारको कार्यक्रमका लागि सहर्ष समय उपलब्ध गराएका उनले बताए ।
नेकपा (माओवादी केन्द्र) को मध्यपुर थिमि नगर समितिले कात्तिक १५ गते बिहीवार दिउँसो राष्ट्रिय विभुती शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण गर्ने तथा नेपाल सम्बत ११४५ को अवसरमा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा सरिक हुन प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रम रहेको हो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले शंखधर चोकस्थित राष्ट्रिय विभुती शंखधर साख्वा:को प्रतिमामा दिउँसो ३ बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको र त्यसपछि थिमि बैंक्वेटमा शुभकामना आदानप्रदान एवं कार्यक्रम हुने माओवादी केन्द्र मध्यपुर थिमी नगर समितिका अध्यक्ष बिजयकृष्ण श्रेष्ठले बताए ।
कार्यक्रमको निम्तो दिन आज नेकपा(माओवादी केन्द्र) का जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, केन्द्रीय सदस्य डिपी ढकाल, जिल्ला संयोजक सुनिल बासु र सचिव जीवन तज लगायतको समेत सहभागिता रहेको सो पार्टीका मध्यपुर थिमि नगरका सचिव शिवसुन्दर श्रेष्ठले जानकारी दिए ।




























