वि.सं.२०८३ वैशाख ५ शनिवार

पत्रकारितामा देखिएका चुनौतीहरूको समीक्षा गर्दै प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौं, भदौ ८।
प्रेस सेन्टर नेपाल, केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, आगामी कार्ययोजना, पत्रकारहरूको श्रम अधिकार, पेशागत सुरक्षा र पत्रकारिता क्षेत्रका चुनौतीहरूमाथि गम्भीर छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

संगठन सुदृढीकरण र विस्तार

बैठकले संगठनलाई योजनाबद्ध तरिकाले विस्तार गर्ने, स्थानीय तहदेखि केन्द्रसम्म संरचनागत सबलीकरण गर्ने तथा सदस्यता विस्तार अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ। साथै, प्रशिक्षण तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरी संगठनलाई पेशागत दृष्टिले सबल बनाउने निष्कर्ष पनि निकालिएको छ।

पत्रकारितामा देखिएका चुनौतीहरूको समीक्षा

बैठकले हाल देखिएका पत्रकारिता सम्बन्धी चुनौतीहरूको गम्भीर मूल्याङ्कन गरेको छ। पत्रकारितामा व्यापारीकरण, दमन, असमानता र निष्पक्षतामाथि आघात भइरहेका अवस्थाको आलोचना गर्दै प्रेस सेन्टर नेपालले स्वतन्त्र, जनपक्षीय र उत्तरदायी पत्रकारिताको पक्षमा दृढ भएर उभिने प्रतिवद्धता जनाएको छ।

श्रम अधिकार र पेशागत सुरक्षा

पत्रकार तथा सञ्चारकर्मीहरूको श्रम अधिकार र पेशागत सुरक्षाको मुद्दालाई प्राथमिकतामा राख्दै बैठकले कानुनी व्यवस्था, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको छ। साथै, श्रमिकमैत्री पत्रकारिता सुनिश्चित गर्न सबै सञ्चार माध्यमहरूसँग ऐक्यबद्धता जनाइएको छ।

अन्तर्राष्ट्रिय सन्दर्भमा ऐक्यबद्धता

बैठकले नेपाल प्रेस सेन्टर अन्तर्राष्ट्रिय रूपमा समेत श्रम, स्वतन्त्रता र अभिव्यक्ति स्वातन्त्र्यका मुद्दामा ऐक्यबद्ध रहँदै अगाडि बढ्ने निर्णय गरेको छ। यसैक्रममा विभिन्न श्रमिक संगठन तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघसँग सहकार्य गर्ने तयारी रहेको बैठकले जनाएको छ।

विभिन्न तहमा कार्यक्रम र अभियान

बैठकले केन्द्रदेखि स्थानीय तहसम्म छलफल, गोष्ठी, प्रशिक्षण तथा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आगामी दिनमा पत्रकारहरूलाई तथ्यपरक र उत्तरदायी पत्रकारितातर्फ उन्मुख गराउने गरी विभिन्न कार्यशाला कार्यक्रम आयोजना गरिनेछ।

बैठकले स्वर्गीय दफ्फुजफी (दिपक श्रेष्ठ) प्रती शोक प्रस्ताव पारित गर्दै उहाँको योगदानलाई स्मरण गरेको छ। साथै, उहाँको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको छ।