काठमाडौं, १६ — विजयादशमी, दीपावली, नेपाल संवत ११४६ र छठ पर्वको अवसरमा काठमाडौं महानगरपालिका–१६, बालाजुमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
श्री कुमारीस्थान टोल सुधार समिति र शान्तिनगर टोल सुधार समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रोजिना श्रेष्ठ र बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपीको विशेष उपस्थिति रहेको थियो।
जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएको बालाजु प्रहरी वृत्त पुनर्निर्माणका लागि स्थानीय टोल समितिले सहयोग संकलन गरी पाँच लाख पाँच हजार रुपैयाँको चेक वडा अध्यक्ष श्रेष्ठको रोहबरमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । सोही अवसरमा, समाजसेवी देवेन्द्र कुमार श्रेष्ठले पचास हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
प्रहरी वृत्त ध्वस्त भएपछि स्थानीयले राति पालैपालो गस्ती गरेर आफ्नै बस्तीको सुरक्षा कायम राखेका थिए। दशैंको समयमा आपराधिक गतिविधि बढ्ने सम्भावना रहेकाले स्थानीयको सक्रियताले प्रहरी–समुदायबीच विश्वास अझ प्रगाढ भएको एक स्थानीयले बताए।
कार्यक्रममा मानुषी एमी भट्टराईको पनि उपस्थिति थियो।
बालाजु प्रहरी वृत्तका इन्चार्ज डीएसपीले समुदायले देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “सुरक्षा भनेको नेपाल प्रहरी मात्रको होइन, यो समुदाय र प्रहरीको सहकार्यले मात्र सम्भव हुन्छ।” उनले पर्वमा अपराध नियन्त्रण र शान्ति–सुरक्षाका लागि स्थानीयसँग सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे।
हालसम्म प्रहरी वृत्तको करिब २० प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। प्रहरी चौकी पुनः सञ्चालनमा आएपछि बालाजु र आसपासका बासिन्दाले अझ प्रभावकारी सुरक्षा सेवाको अपेक्षा गरेका छन्।
यस कार्यक्रमले संकटको घडीमा समुदाय र प्रहरीले मिलेर शान्ति–सुरक्षा कायम राख्न सकिने उदाहरण प्रस्तुत गरेको आयोजकले बताए।
कार्यक्रममा पूर्व प्रतिनिधि सभा उम्मेदवार मानुषी एमी भट्टराईको समेत उपस्थिति रहेको थियो।



























