वि.सं.२०८३ वैशाख ५ शनिवार

नेपाल इन्जिनियरिङ कलेजको ३१ औं वार्षिकोत्सवमा ६ कर्मचारी सम्मानित

भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले ३१ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । सन् १९९४ मा स्थापना भएको कलेजले ३१ वर्ष पूरा गरी ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा ६ जना कर्मचारीलाई नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।

विगत २० वर्षदेखि कलेजमा निरन्तर सेवा गर्दै आएका विकास खड्का, सुमित्रा शाक्य, जगन्नाथ अर्याल, प्रल्हाद न्यौपाने, अर्जुन थापा र शोभा खनाललाई चाँगुनारायण नगरपालिकाका मेयर एवम् कलेज सञ्चालक समितिका अध्यक्ष जीवन खत्री तथा प्राचार्य दुर्गाप्रसाद भण्डारीले संयुक्त रुपमा सम्मान गरेका छन् ।

सो अवसरमा कलेजले सामाजिक उत्तरदायित्व अनुरूप चाँगुनारायण–४ मा रहेको ग्रामीण अपाङ्गता समन्वय समितिद्वारा सञ्चालित विशेष विद्यालयलाई कम्प्युटर र प्रिन्टर समेत हस्तान्तरण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर खत्रीले मुलुकका लागि दक्ष इन्जिनियर उत्पादन गर्ने क्रममा नेपाल इन्जिनियरिङ कलेजले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई नेपालकै नमूना इन्जिनियरिङ कलेज बनाउन आफू सक्रिय रहेको बताए ।

त्यसैगरी, प्राचार्य दुर्गाप्रसाद भण्डारीले विगत ३१ वर्षमा दशौं हजार दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको जानकारी दिदै गुणस्तरीय र सर्वसुलभ शिक्षाप्रति प्रतिबद्ध रहेको भन्दै उनले भविष्यमा इन्टर्नसिपलगायत व्यवहारिक शिक्षण पद्धतिमा अझ जोड दिने योजना रहेको बताए ।

कार्यक्रममा सञ्चालक समिति सदस्य नरेश खड्काले, प्राध्यापक सावित्री त्रिपाठी लगायतका वक्ताहरूले कलेजले इन्जिनियरिङ शिक्षामा पुर्याएको योगदानको चर्चा गरेका थिए । सहायक प्राचार्य मोहनध्वज केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सोमप्रसाद प्रधान, सदस्य सन्तोष केसी, विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजमा आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सलगायतका विषयमा स्नातक तहदेखि स्नातकोत्तर तहसम्म अध्यापन हुने गरेको छ । शान्त र हरियाली वातावरणमा अवस्थित कलेजमा देशका ७७ वटै जिल्लाबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् ।