काठमाडौं, ६ असोज २०८२ – नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले आज पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु तथा धान बालीमा अनुसन्धान गर्ने सम्झौतापत्रलाई कार्यान्वयन गर्न आवश्यक समन्वय समिति गठन गर्ने प्रस्ताव अघि सारे। मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने उक्त समितिले यससम्बन्धी सबै कार्य समन्वय गर्ने जनाइएको छ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा. परियारले आगामी निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शासकीय सुधार र बेथिति रोक्ने कार्यमा सरकार सक्रिय रहने विश्वास दिलाए।
उनका अनुसार, वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथिति नियन्त्रण तथा निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट पूर्ण योगदान रहनेछ। मन्त्री डा. परियारले पारदर्शिता, सुशासन र जनअपेक्षाअनुरूप काम गर्ने दृढ संकल्प व्यक्त गरे।


























