काठमाडौं — नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन मन्त्रालयमै बस्ने भएका छन् । पदभार ग्रहणलगत्तै सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू मन्त्री क्वार्टरमा नबस्ने स्पष्ट पारेका हुन् ।
मन्त्री पुनले मन्त्रालयमै कोठा मिलाउन निर्देशन दिँदै भने, “मन्त्री क्वार्टर चाहिँदैन, यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु।”
उनले सुरक्षाकर्मीलाई समेत मन्त्रालयमै बस्न आग्रह गरेका छन् । साथै, सरकारी कामबाहेक अन्य निजी प्रयोजनका लागि सरकारी गाडी प्रयोग नगर्ने घोषणा पनि गरेका छन् ।
सादा जीवन र व्यावहारिक कार्यशैलीलाई प्राथमिकता दिने मन्त्री पुनको यो निर्णयले राजनीतिक वृत्तमा चासो र प्रशंसा दुवै पाएको छ ।



























