भदौ २३ काठमाडौं — एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी कलेजमा भदौ १९ देखि २१ गतेसम्म आयोजित अन्तर कलेज स्तरीय ‘एसियन ह्याकाथन २०२५’ मा नेपाल इन्जिनियरिङ कलेजको ‘कोड टु कन्भर्ट’ समूहले विजेता बन्न सफल भएको छ।

समूहले खुद्रा सामग्रीको विश्लेषण गर्ने ‘पसले’ परियोजना प्रस्तुत गर्दै शीर्ष स्थान हात पारेको हो। उनीहरूले पाइथनमा आधारित एनालिटिक्स ब्याकएन्ड (मार्केट फिट एनालाइजर) सँग इन्टिग्रेट गरिएको मोबाइल एप विकास गरेका थिए, जसको व्यवहारिक प्रभाव र प्राविधिक पक्षहरूले निर्णायकहरूको ध्यान खिचेको थियो। विजेता समूहले नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
यसैगरी, काठमाडौँ विश्वविद्यालयको ‘मेन्टर मेट्रिक्स’ फर्स्ट रनर अप हुँदै २० हजार रुपैयाँ, र ख्वप इन्जिनियरिङ कलेजको ‘कोत्रिकाश’ सेकेन्ड रनर अप हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
उत्कृष्ट प्रस्तुतिका लागि अमृत साइन्स क्याम्पसको ‘बाइट म्याभेरिक्स’, फ्युचरिस्टिक आइडिया अवार्डका लागि काठमाडौँ बिजनेस क्याम्पस, उत्कृष्ट यूआई/यूएक्स डिजाइनका लागि सफ्टवेरिका कलेज अफ आईटीको ‘डिबग डाइनेस्टी’ र मेन्टर्स चोइस अवार्डका लागि एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको ‘इनसिङ्क’ सम्मानित भए।
यस कार्यक्रमले देशभरका कलेजका उत्कृष्ट युवा आविष्कारक, प्राविधिज्ञ र समस्या समाधानकर्ताहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।



























