वि.सं.२०८३ वैशाख ५ शनिवार

जनतासँग माओवादी अभियानले जनतालाई शक्ति प्रदान गर्नेछ: प्रचण्ड

जनतासँग माओवादी अभियानले जनतालाई शक्ति प्रदान गर्नेछ: प्रचण्ड
धनपालथान (मोरङ), १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरुमाथिको विभेद विरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने बताउदै अध्यक्ष प्रचण्डले दक्षिणी भेगमा बसोबास गर्ने जनताले विविधखाले समस्या व्यहोरिरहेको बताए ।
यस्तै उत्पीडित क्षेत्रका जनसमुदायको मुक्तिका लागि महान जनयुद्ध भएको स्मरण गराउँदै उहाँले नयाँ संविधानमार्फत धेरै समस्यालाई नीतिगत रुपमा सम्बोधन गरिए पनि व्यवहारिक कार्यान्वयनमार्फत जनताको अवस्था बदल्दै आवश्यक परे संविधान संशोधनमार्फत उत्पीडित समुदायको अधिकार थप्दै लैजाने समेत बताए ।
अहिले सत्तारुढ दलहरु जनताको अधिकार थप गर्नुको साटो भएको अधिकार पनि कटौती गर्ने षड्यन्त्रमा लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता षडयन्त्र विरुद्ध जनतालाई सचेत बनाउँदै आवश्यक परे संघर्षमा उत्रन समेत आह्वान गरे। उत्पीडित वर्गको पक्षमा संघर्षको माओवादीले गर्ने उल्लेख गर्दै उनले यो अभियान त्यसका लागि सचेतना अभियान पनि भएको बताए ।
हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सकिएपछि वैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु हुने र दुबै अभियान सकिदासम्म जनताले थप शक्ति प्राप्त गर्ने र त्यसले जनताको अधिकार विरुद्ध जस्तो जस्तोसुकै षड्यन्त्रलाई पनि परास्त गर्ने उनले स्पष्ट पारे ।
सो क्रममा अध्यक्ष प्रचण्डले काङ्ग्रेस, एमाले, जसपा लगायतका दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ठूलो सङ्ख्यामा स्थानीय नेता कार्यकर्तालाई स्वागत गरेका थिए ।