वि.सं.२०८३ जेठ २० बुधवार

श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ- २०८१ को तयारी पूरा

फाल्गुन,२० भक्तपुर – मानव सेवा फाउन्डेसनद्वारा आयोजित “श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ- २०८१” को तयारी पूरा भएको छ। महायज्ञ आगामी चैत्र २१ देखि चैत्र २७ गतेसम्म भक्तपुरमा सम्पन्न हुनेछ।

२०७२ सालको भूकम्पपछि, काठमाडौं, भक्तपुर र ललितपुरका सडकमा धेरै बेवारिसे मानव भेटिएका थिए। यस अवस्थाबाट मुक्त गर्न युवाहरूले विभिन्न संघ-संस्थासँग समन्वय गर्दै सडक मानवलाई खाना खुवाउने र सरसफाई गर्ने अभियान सुरु गरेका थिए।

मानव सेवा फाउन्डेसनले आफ्नो सेवा घरमार्फत् बेवारिसे मानवहरूको उद्दार र परिवारसँग पुनर्मिलन गराउने प्रयास गर्दै आएको छ। संस्थाका संस्थापक अध्यक्ष सुमी मानवका अनुसार, सेवाघरले हाल भक्तपुरमा केन्द्रिय कार्यालय सञ्चालन गर्दै देशभरका ६ स्थानमा करीब ५०० भन्दा बढी व्यक्तिहरूलाई सेवा दिइरहेको छ।

महायज्ञको मुख्य उद्देश्य बेवारिसे मानवहरूको उद्दार र पुनःस्थापन, स्वास्थ्य उपचार र पुनर्मिलनको प्रयासका साथै स्थायी रूपमा जग्गा खरिद गरी मानव समाज कल्याणको भवन निर्माण गर्नु रहेको महायज्ञ आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले बताए।

आयोजकहरूले पत्रकार सम्मेलनमार्फत् सबैलाई आर्थिक सहयोग र सहायता जुटाइदिन आग्रह समेत गरेका छन्।