वि.सं.२०८३ जेठ २० बुधवार

दार्चुलामा पत्रकारलाई सार्वजनिक धम्की, प्रेस सेन्टर नेपालको आपत्ति

दार्चुला — प्रेस सेन्टर नेपालले दार्चुला जिल्ला समिति अध्यक्ष तथा सक्रिय युवा पत्रकार हरिप्रसाद जोशीलाई दिइएको सार्वजनिक धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केही दिनअघि दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा पालिकाका कर्मचारीहरुले पत्रकार महासंघ दार्चुलासहितको कार्यक्रममा रहेका जोशीलाई सार्वजनिक धम्की दिएको प्रेस सेन्टरको आरोप छ। सार्वजनिक कार्यक्रममा आलोचक समाचारका कारण पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथि प्रहार भएको प्रेस सेन्टरको भनाइ छ।


प्रेस सेन्टरले पत्रकारमाथि यस प्रकारको सार्वजनिक धम्की दिने कार्य संविधानले दिएको प्रेस स्वतन्त्रताको हनन भएको बताउँदै, यसले पत्रकारको पेशागत तथा भौतिक सुरक्षामा गम्भीर चुनौती खडा गरेको बताएको छ।

संविधानको कार्यान्वयन र जनतालाई सहज सेवा दिनुपर्ने जिम्मेवारीबाट विचलित भई पत्रकारलाई धम्की दिनु गैरकानुनी भएको उल्लेख गर्दै, प्रेस सेन्टरले आरोप फिर्ता लिन र भविष्यमा प्रेस स्वतन्त्रताको सम्मान गर्न सरोकारवालालाई आग्रह गरेको छ।