काठमाडौं, साउन २७ — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण युवा समुदायप्रति शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा प्रचण्डले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीहरूको समाधान गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा युवाको सक्रिय भूमिकाको महत्त्व उल्लेख गर्दै, नेपाली युवाले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।
प्रचण्डले आफ्नो युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको नेतृत्वसम्मको यात्रा स्मरण गर्दै, ऐतिहासिक जनयुद्धको बलमा सामन्तवादको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको बताए।
उनले नेकपा (माओवादी केन्द्र) नै देशको एक मात्र राजनीतिक दल भएको जसले पार्टीका सबै तहमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी गरे ।

अध्यक्ष प्रचण्डका अनुसार माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको थियो। युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद्, युवा उद्यमशीलता कार्यक्रम, स्टार्टअप प्रोत्साहन अभियान र रिटर्नी उद्यमी कार्यक्रम जस्ता योजनाले हजारौँ युवाको जीवनमा प्रत्यक्ष प्रभाव पारेको उनको दाबी छ।
सन्देशमा उनले युवालाई भविष्यको मात्र होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताको रूपमा पहिचान गर्दै, आफ्नो सीप, ऊर्जा र विचारलाई जनताको पक्षमा तथा राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाउन आह्वान गरेका छन्।




























